मिटरब्याज पीडितलाई गृहमन्त्रीको सम्बोधनः विधेयक पारित गर्ने काम हामी गर्छौं, ढुक्क हुनुस्



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुलाई विधेयक पारित हुने भएकाले ढुक्क भएर घर फर्किन आग्रह गरेका छन् ।

आइतबार नयाँबानेश्वरस्थित धर्नास्थलमा पुगेर गृहमन्त्रीले पीडितहरुलाई सरकारले तत्काल विधेयक अघि बढाउने बताए । उनले विधेयक संसदमा रहेको र पारित गर्ने प्रक्रिया अगाडि बढाइने बताए ।


उनले अध्यादेश आउनुभन्दा अगाडि नै सरकारले आयोग बनाएको र त्यसले काम गरिरहेकाले ढुक्क हुन पीडितहरुलाई आग्रह गरे । उनले भने, ‘विधेयक पारित गर्ने काम हामी गर्छौं । ढुक्कसँग घर फर्किनुहोला ।’

उनले अब मिटरब्याजीलाई कारबाही गर्न कुनै पनि ताकतले रोक्न नसक्ने बताए । अनुचित लेनदेन सम्बन्धी अध्यादेश जारी भएको ६० दिनभित्र संसदले प्रतिस्थापन गर्न बनेको विधेयक संसदले पास नगरेपछि निष्क्रिय भएको छ । यसको विरोधमा मिटरब्याज पीडितहरुले आइतबार संसद भवन अगाडि धर्ना दिएका छन् ।