काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद चल्न नदिने चेतावनी दिएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति रवि लामिछानेले यथाशिघ्र मिटरब्याज पीडितको पक्षमा शून्यमा ल्याइएको विधेयक तत्काल ल्याउनुपर्ने माग गरेका हुन् । उनले विधेयक नल्याए आफूहरुले संसद बैठक चल्न नदिने चेतावनी दिए ।
उनले भने, ‘मिटरब्याज पीडितको पक्षमा शून्यमा ल्याइएको विधेयक यथाशिघ्र ल्याइयोस् । नत्र अर्को बैठक चल्न दिने छैनौं । जनतालाई रुवाएर त्यसबारे मौन बसेर सदन चल्न सक्दैन ।’
उनले सत्ता पक्षले नै विधेयक रोक्न खोजेको आफूले सुनेको बताए । उनले विधेयक ल्याएपछि पक्षमा के र विपक्षमा को छ भन्ने स्पष्ट हुने बताए । उनले मिटरब्याजको अध्यादेश शून्यमा गएको भन्दै आफूहरु सदैव पीडितका पक्षमा रहेको बताए ।
उनले भने,’कसका कारणले आजको बैठकमा मिटरब्याज पीडितको पक्षमा विधेयक नल्याइएको हो ?’ सरकारले वैशाख २० गते मिटरब्याज सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २४ वैशाखमा प्रतिनिधिसभामा पेश भएको थियो ।
अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ६० दिन भित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ । त्यस अनुसार असार २० गतेसम्म प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने थियो । तर, एमाले, रास्वपा र राप्रपाले सदन चल्न नदिएका कारण मिटरब्याज सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन विधेयक पारित हुन सकेको थिएन ।