मादीमा पहिराले दुई परिवार विस्थापित



कास्की । कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिराले दुई घर परिवार पूर्णरुपमा विस्थापित भएका छन् । चार घर जोखिममा परेका छन् । मादीको वडा नं ६ का पाँच र वडा नं २ मा एक परिवार पहिराको जोखिममा परेको गाउँपालिकाले जनाएको छ ।

यही असार १९ गतेको अविरल वर्षाले मादी–६ को काहुँखोला–दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घरलाई पहिराले जोखिम पु¥याएको हो । अविरल वर्षापछि घरसँगैको सडक पहिराले लैजाँदा स्थानीय कमलापति बरालको दुई घर र दीपक बरालको एक घर एक गोठमा क्षति पुगेको छ ।


यी दुवै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय लिएको सोही वडाका वडाध्यक्ष डिलबहादुर क्षेत्रीले बताए । त्यसैगरी स्थानीय शमसेर पाण्डेको एक घर, भगवानसिंह गुरुङको एक घर एक गोठ र विष्णुमाया घर्तीको एक घर र एक गोठ जोखिममा परेको वडाध्यक्ष क्षेत्रीले घर जोखिममा परेकालाई उचित व्यवस्थापनका लागि गाउँपालिकामा सिफारिस गरिएको जानकारी दिए ।

वडाध्यक्ष क्षेत्रीले भने, “पहिराले विस्थापित परिवारलाई आफन्त तथा समाजघरमा राखिएको छ । प्रभावितको व्यवस्थापनका लागि गाउँपालिकामा सिफारिस गरेका छौँ ।” गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले पहिराले पीडित परिवारलाई गाउँपालिकाबाट राहत प्रदान गरिने बताए । उनले विस्थापितलाई वैकल्पिक बसोबासका लागि पहल भइरहेको जानकारी दिए ।

अध्यक्ष गुरुङले भने, “विस्थापित परिवारलाई पालिकाबाट राहत दिन्छौँ । प्रदेश तथा सङ्घीय सरकारसँग समेत समन्वय गरी एकै दिन एउटै कार्यक्रम गरेर नियमानुसार उचित राहत प्रदान गर्नेछौँ ।” अविरल वर्षा तथा पहिराका कारण मादीका अन्य वडामा समेत क्षति पुगेको बताइन्छ । विशेष गरी ग्रामीण सडकमा पहिराले क्षति गराएको छ ।