मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ:  उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं । सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक तयारी गरेको जनाएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्को सम्भावित जोखिम व्यवस्थापनका लागि सरकारले सबैखाले तयारी गरिरहेको र आवश्यक संयन्त्र पनि तमतयार अवस्थामा रहेको बताए ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवन परिसरमा रहेको मानवीय सहायतास्थलको निरीक्षण गर्दै उनले विपद् व्यवस्थापनका लागि विगतका वर्षभन्दा यो पटक राम्रो तयारी गरिएको उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले भने “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका निम्ति पहिलाका अनुभवबाट शिक्षा लिँदै हाम्रो देश विपद् जोखिमग्रस्त मुलुक हो भन्ने कुरालाई हृदयङ्गम गर्दै आवश्यक तयारीका काम गरिरहेका छौँ, त्यसमध्ये यो पनि एउटा हो ।”