काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिति र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको दाबी गरेका छन्।
समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणा सभालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरुद्ध अभियान थालिएको छ। तस्करीविरुद्ध जेहाद छेडिएको छ। यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ। यो लडाइँ जित्नैपर्छ। यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन। नेपाली जनताको हितका लागि गरिएको हो।’
भ्रष्टाचारका अरु धेरै फाइल खुल्ने उनले बताए। एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाईं नभएकाले त्यसमा जनताको साथ र समर्थन जरुरी रहेको उनको भनाइ थियो। प्रधानमन्त्री प्रचण्डले भने, ‘यसमा समाजवादी मोर्चाको समर्थन चाहिएको छ। हेर्दै जानुहोला, अरु फाइल खुल्दै जानेछन्। त्यतिबेला तपाईंहरुको समर्थन चाहिन्छ। एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ होइन, जनस्तरको समर्थन पाएर हामी यो ब्याटल जित्ने छौँ।’
प्रधानमन्त्री प्रचण्डले सङ्घीय शिक्षा विधेयक आगामी मङ्गलबार सदनमा पेस गरिने जानकारी दिए। मन्त्रिपरिषद्को बैठकले सो विधेयक पारित गरेर सदनमा पेस गर्ने र शिक्षा क्षेत्रमा सुधारका लागि नयाँ मार्ग तय गरिने उनले उल्लेख गरे।
प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको बताए। तत्कालीन नेकपा नेतृत्वको सरकारको समयमा तयार भएको सो प्रतिवेदन सार्वजनिक भएको छैन। तत्कालीन पार्टीको बहुमत सदस्य सार्वजनिक गरी कार्यान्वयन गर्न तयार भए पनि तत्कालीन प्रधानमन्त्री तयार नभएको उनले बताए।