डुम्रे । संस्कृतलाई अन्य भाषाको पनि मातृभाषा मानिन्छ । पूर्वीय दर्शनमा पनि संस्कृतको ठूलो महत्व छ । तर नेपालमा पनि संस्कृत अधयापन गराउने विद्यालय भने विद्यार्थीको सङ्ख्या घट्दै जाँदा बन्द चिन्ता पनि थपिएको छ ।
लामो समयदेखि संस्कृत अध्यापन हुँदै आएको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घाबेँसीको भानु संस्कृत विद्यापीठ पनि पछिल्लो समय बन्द अवस्थामा छ । पठनपाठन बन्द भएपछि विद्यापीठको भवन यतिबेला जीर्ण बन्दै गएको छ । भवन वरपर घाँस पलाएको छ ।
विद्यापीठका तत्कालीन प्राचार्य पूर्णचन्द्र वाग्ले शिक्षा ऐनका कारण विद्यापिठ बन्द भएको तर्क गरे । “विद्यार्थी नभएर मात्रै विद्यापीठ बन्द भएको होइन, विद्यार्थी अत्यधिक त थिएनन् तर कारण भने शिक्षा ऐन नै ।”
सरकारबाट विद्यापीठमा मध्यमासम्मको कक्षा सञ्चालनका लागि मात्रै स्वीकृति हुँदा यस्तो अवस्थामा पुगेको वाग्ले बताउछन् । “सरकारले शिक्षा ऐन परिमार्जन गरी कक्षा १२ सम्मलाई विद्यालय तहमा ल्यायो, यसका लागि शास्त्री र आचार्य सञ्चालन गर्ने अनुमति चाहिन्छ तर अनुमति नहुँदा विद्यापिठ बन्द भएको हो”, वाग्लेले भने । भानुभक्त आचार्यको पहिचानकै रुपमा रहेको यस विद्यापीठ बन्द हुनु भानुवासीका लागि दुःखद भएको उनको भनाइ छ ।
“हरेक क्षेत्रको विकासमा राजनीतिक दलको पनि भूमिका रहन्छ, तर राजनीतिक दलले यसमा ध्यान नदिँदा शास्त्रीको कक्षा सञ्चालन हुन नसक्दा विद्यापिठ बन्द हुन पुगेको हो”, उनले भने । विद्यापिठ बन्द भएपछि प्राचार्य वाग्लेको कास्कीको पोखरास्थित बिन्दवासिनी संस्कृत विद्यापीठमा सरुवा भइसकेको छ । हाल यो विद्यापीठ सङ्घीय सरकार मातहत छ ।
नेपाल संस्कृत विश्वविद्यालयका रजिस्ट्रार माधव अधिकारीले विश्वविद्यालयको आ–आफ्नो नीतिअनुसार चल्ने क्रममा भानु संस्कृत विद्यापीठ उत्तरमध्यमा तहसम्म पठनपाठन गराइएको बताए । “उत्तर मध्यमा तहको पठनपाठन हुँदा छ महिनाको भाषा प्रशिक्षण दिएर संस्कृत अध्ययनका लागि विद्यार्थी भर्ना गरिने गरिएको थियो, सो समयमा विद्यालयमा ११÷१२ कक्षा सञ्चालन भएको थिएन”, उनले भने ।
तत्कालीन समयमा विद्यार्थी अध्ययनका लागि आउने क्रम राम्रो थियो । तर, शिक्षा ऐनमा विद्यालय तह कक्षा १२ सम्म भएको तर सोअनुसार उत्तरमध्यमा तहको पढाइ शास्त्री तहमा परिणत गर्न नसक्दा बन्द हुन पुगेको उनको भनाइ छ ।
“वेदव्यास संस्कृत माध्यमिक विद्यालयसँग समन्वय गरी अगाडि बढाउने प्रयास समेत गरेको थियो, सरकारबाट निर्णय हुन सकेन र पूर्णरुपमा बन्द भएको हो”, उनले भने ।
प्राचीन वाङ्मयमा निहीत परम्परागत धर्म, नैतिक मूल्यमान्यता, सदाचार र सच्चरित्रको परिपालना गर्दै संस्कार, सभ्यताजस्ता विशिष्टताको खोजी गरी तिनको संरक्षण र संवर्द्धन गर्न संस्कृत भाषा अध्ययन हुने विद्यापीठ पुनः सञ्चालन गर्न आवश्यक भएको सरोकारवालाको भनाइ छ ।
भानु संस्कृत विद्यापीठमा उत्तर मध्यमा तह अध्ययन गर्नुभएका विद्यार्थी ओमकार आचार्यले वैदिक धर्मको पहिचान, संस्कार, संस्कृति, परम्परालाई संरक्षण गर्न सहयोग पु¥याउने यस्ता विद्यापीठ सञ्चालन हुनुपर्ने बताए । संस्कृत भाषाको संरक्षणका लागि पनि सबै पक्षले चासो दिनुपर्ने उनको भनाइ छ ।
“वैदिक धर्म, पहिचान, संस्कार, संस्कृति र परम्पराको संरक्षणमा सहयोग पुर्याउने संस्कृत विद्यालय सञ्चालनलाई निरन्तरता दिन अन्य विद्यालयसरह सबैले चासो दिनुपर्छ, अन्य सामुदायिक तथा संस्थागत विद्यालयका लागि विद्यार्थी भर्नाका लागि खोजिए जसरी नै संस्कृत अध्ययनका निम्ति विद्यार्थी खोज्ने, छात्रवृत्तिलगायत विभिन्न शिक्षाको पहुँचका विषयको व्यवस्थापन गर्न सबै पक्षले समन्वय गर्नुपर्छ”, विद्यापीठका स्ववियु पूर्वसभापति समेत रहेका आचार्यले भने ।
स्थानीय मीनबहादुर श्रेष्ठले यहाँ विद्यापीठ सञ्चालनको अवस्थामा विद्यार्थीमार्फत नै भानु जन्मस्थलको प्रचारप्रसार भएको बताए । उनी भन्छन्, “मुलुकका विभिन्न ठाउँबाट यहाँ संस्कृत विद्या अध्ययनका लागि आउँथे, यसैको माध्यमबाट संस्कृत विद्या र राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको प्रचारप्रसार भएको थियो, अहिले बन्द भएपछि यहाँ नत चहलपहल छ न साहित्यिक प्रचारप्रसार भएको छ ।”