बाढी र गर्मीले खाद्य सुरक्षा संकटमा पर्न थालेपछि चीन सरकाले किन्यो विदेशमा खेतीयोग्य जमिन



काठमाडौं । खाद्यान्न आपूर्तिमा थप आत्मनिर्भर देश बनाउने चिनियाँ राष्ट्रपति सी जिनपिङको लक्ष्यलाई यो वर्षको भारी वर्षाले मुस्किल बनाइदिएको छ। मे महिनाको अन्तिमतिर भारी वर्षा हुँदा मध्य चीनमा गहुँबाली नष्ट भएको थियो।

अधिकारीहरूका अनुसार एक दशकमा पहिलोपटक गहुँमा यति धेरै क्षति भएको हो। उत्तर–पश्चि क्षेत्र सिनजियाङमा गहुँबालीमा धेरै क्षति पुगेको छ भने दक्षिणी चीनको गुआङ्सी राज्यमा भीषण गर्मीका कारण धान रोपेको खेतमा ठूलो संख्यामा माछाको मृत्यु भएको छ। साथै गर्मीकै कारण नानतोङ सहरको बुँगुर फार्मका अधिकांश बुँगुर मरेका छन्। यसले खाद्य सुरक्षा खतरामा पर्न सक्ने बताइएको छ।


केही वर्ष यतादेखि चलिरहेको चीन र अमेरिकाबीचको तनाव, कोरोना महामारी तथा युक्रेन–रुस युद्धका कारण विश्वभर खाद्य वस्तुको मूल्य बढेको छ। यही कारण चीनमा अन्न उत्पादनलाई जोड दिइएको छ। अन्य देशको तुलनामा चीनमा खाद्यान्नको मूल्य कम नै बढेको छ। तैपनि चिनियाँ अधिकारीहरू खाद्यान्न आपूर्तिलाई लिएर चिन्तित छन्।

चीनकै अर्को हेनान राज्यमा आएको बाढीले खाद्य सुरक्षामाथि चिन्ता बढाएको बताइएको छ। समग्र चीनमा उत्पादन हुने गहुँको तीन चौथाइ उत्पादन हेनानमा हुन्छ। इतिहासमा चीनमा अकालका कारण कैयौँ शासकले सत्ता छोड्नुपर्ने स्थिति सिर्जना भएको छ। यसैलाई ध्यानमा राख्दै चीनले विदेशमा खेतीयोग्य जमिन किनेर राखेको छ।

अहिले चीनसँग १८ महिनालाई धान्न पुग्ने गहुँ र चामलको भण्डारण छ। विश्लेषकले यो वर्ष गहुँ उत्पादन कम भएपछि जतिसक्दो बढी आयात गर्नुपर्ने सुझाव सरकारलाई दिएका छन्। यसले विश्वभरि नै अन्नको मूल्य बढाउन सक्नेछ।

चीन विश्वकै ठूलो गहुँ उत्पादक र खपतकर्ता पनि हो। चीनले खाद्य सुरक्षालाई जोड दिँदा यसको असर विश्वभरि नै पर्ने अनुमान विश्लेषकले गरेका छन्।