प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन



काठमाडौँ । सत्ता गठबन्धनले प्रमुख विपक्षी दल एमालेले संसदमा बहुमत प्राप्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्नु असंसदीय कदम भएको ठहर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका सात दलको बैठकले एमालेले विरोध गर्दैमा राजीनामा दिनु नपर्ने निष्कर्ष निकाल्दै संसदको फेस गर्ने निर्णय गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।


बैठकले संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति छ भने संसदमा आवाज उठाउन पाउने तर राजीनामा नै दिनुपर्छ भन्ने कुरा असंसदीय र अमर्यादित रहेको जनाएको छ ।

सरदार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएको एमालेको आरोप छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयनलगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।