प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ’प्रितम् सिंह मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने अभिव्यक्ति अक्षम्य भएको बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले यस विषयमा प्रतिनिधिसभाका सदस्यहरु गम्भीर बन्नुपर्ने बताएका हुन् । उनले भनेका छन्, ‘प्रचण्डजीको धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै सन्देह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरु साक्षी छन् । ’प्रितम् सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने उनको भनाई उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो । प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भएपनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधिसभा नै हो । जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषययमा प्रतिनिधि सभाका माननीय सदस्यहरुको ध्यान गम्भीर रुपमा जानेनै छ ।’


किरणदीप सिन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मेहनत गरेको र दिल्लीसमेत धाएको बताएका थिए ।