पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेध



पोखरा । पोखरा बसपार्क क्षेत्रका सडक छेउमा आजदेखि पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल) सम्मका सडक छेउमा पार्किङ निषेध गरेको हो ।

पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाका अनुसार जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने निर्णयअनुसार आजदेखि पार्किङमा प्रतिबन्ध लगाइएको हो । 


बसपार्क क्षेत्रमा सडक पार्किङ बन्द गर्न आज बिहानैदेखि महानगरका प्रतिनिधि, ट्राफिक प्रहरी लगायत खटिएका छन् ।

बसपार्क राजमार्गसँगै जोडिएकाले सडक छेउमै साना, ठूला सवारी साधन पार्किङ गर्दा समस्या भएको महानगरको भनाइ छ ।

महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष तिमिल्सिनाका अनुसार बसपार्क भित्र कम्तिमा १ सय ५० सवारी साधान पार्किङ गर्न सकिने गरी ब्यवस्था मिलाइएको छ ।