काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र घरेलु टोली बङ्लादेशले बराबरी खेलेका छन् । बिहीबार साँझ ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा भएको खेलमा नेपाल र बङ्गलादेशले १–१ गोलको बराबरी खेलेका हुन् । बङ्गलादेशकी सबिना खातुनले खेलको ६५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएको थिइन् ।
तर नेपालकी सावित्रा भण्डारीले थपिएको ४ मिनेटको इन्ज्युरी समयमा गोल गर्दै टोलीलाई बराबरीको अवस्थामा ल्याइन् । गतवर्ष भदौमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनशिपको फाइनलपछि नेपाल र बङ्लादेशले दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न लागेका हुन् ।
पहिलो पटक साफ च्याम्पियनशिपको उपाधि जित्दा बङ्लादेशले नेपाललाई ३–१ गोलले हराएको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनशिपको उपाधि जित्न सकेको छैन । नेपाल र बङ्लादेशबीच दोस्रो मैत्रीपूर्ण फुटबल आइतबार हुनेछ ।