धुप-बत्ती गर्दैमा गठबन्धन सरकार ढल्दैन : मन्त्री ज्वाला



जनकपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन् । आज (आइतबार) जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

नेकपा एमालेप्रति लक्षित गर्दै मन्त्री ज्वालाले गठबन्धन ढालोस् भनेर धुप, बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गरे । ‘प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको’ उल्लेख गर्दै मन्त्री ज्वालाले गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे । गठबन्धन ढालेर केही पाइहाल्छौँ कि भन्ने आशा गर्नेहरुले आशावादी नबन्न पनि ज्वालाले आग्रह गरे ।


मन्त्री ज्वालाले भने, ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ । कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धुप बत्ती गर्दैमा गठबन्धन ढल्दैन। किनभने यसको ग्राउण्ड छ । प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु छन् । चुनावका बेलमा सँगै अघि बढेका शक्तिहरु एक ठाउँमा छन् । जटिल मोडहरुमा एकताबद्ध भएका शक्तिहरु एक ठाउँमा छन् । यो ढलेर फाइदा पाइहाल्छौँ कि भनेर आशावादी भएकाहरुको आशा पूरा हुँदैन ।’

मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताए ।