दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या सैँतीस पुग्यो, नौ जना बेपत्ता



दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् । दक्षिणपूर्वी उत्तरी ग्योङसाङ प्रान्त र मध्य चुङचेओङ प्रान्तमा बर्षाजन्य विपत्तिका कारण मृत्यु भएका ३७ जनाको शव फेला परेको केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य मुख्यालयले जनाएको छ ।

प्रान्तहरूका लागि भारी वर्षाको चेतावनी जारी गरिएको छ भने केही क्षेत्रहरूमा गत हप्ता नौ सय मिलिमिटरभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको थियो । उत्तरी ग्योङसाङ प्रान्तमा नौ जना अझै बेपत्ता छन् भने दक्षिणपश्चिमी जियोला, चुङछियोङ र ग्योङसाङ प्रान्तमा मङ्गलबारसम्म २५० मिलिमिटरसम्म थप वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


बाढी, आवास भत्किने र पहिरोका कारण देशभर मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारी साधनबाट नौ जनाको शव फेला परेको छ । अविरल वर्षाका कारण १४ वटा शहर र प्रान्तका आठ हजार ८५२ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।