वीरेन्द्र जैसीले अनशन तोडे, उपचारको जिम्मा लिने गृहमन्त्रीको प्रतिबद्धता



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०७३ फागुन १ मा कोखामा प्रहरीको गोली लागि सख्त घाइते भएका र उपचार तथा क्षतिपूर्तिका लागि तीनहप्तादेखि अनशनरत वीरेन्द्र जैसीको अनशन तोडाएका छन् ।

सोमबार साँझ अनसनस्थलमा पुगी गृहमन्त्रीले जैसीको अनसन तोडाएका हुन् । वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो ।


हालसम्म उपचारको एक लाख ९१ हजार खर्च सरकारले बेहोरेको छ । माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए।

आजबाट भने नेपाल प्रहरी अस्पतालमा उनको थप उपचार हुनेछ। अनशन तोडाउँदै उपप्रधानमन्त्री श्रेष्ठले उनको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने वचन दिएका छन् ।