तनहुँमा एक महिला मृता फेला



तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ बेलबासस्थित मादीसेती नदीको किनारमा एक महिलाको शव भेटिएको छ । मादीसेती नदीको सङ्गमस्थलभन्दा करिब सात सय मिटर तल नदी किनारमा करिब ४०÷४५ वर्षकी महिलाको बेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

नामथर, वतन केही पनि नखुलेको महिलाको शव नदीको पानीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । उनका अनुसार असार ३० गते दिउँसो महिला शव तैरिरहेको अवस्थामा भेटिएको हो ।


“गहुँगोरी वर्णको मझौला शरीर, अनुहारको बाहिरी छालाको भाग सडिसकेको, टाउकोको बाहिरी छाला गलिसकेकाले कपालको भाग नभएको अवस्थामा महिलाको शव भेटेका थियौँ”, उनले भने , “शरीरको भाग फुलेको, पाँच फिट उचाइ, दाहिने कानमा बुट्टासहितको सुनजस्तो देखिने पहेलो रङको मुन्द्रा एक थान, नाकमा सोही प्रकारको फुली एक थान र घाँटीमा रातो गेडीवाला पोते भएको माला र बायाँ हातमा रातो चुरा लगाएको अवस्थामा भेटिएको थियो ।”

हालसम्म मृतक महिलाको सनाखतका लागि कहीँ कतैबाट आफन्त प्रहरी कार्यालयको सम्पर्कमा नआएको भन्दै प्रहरीले आफन्त तथा परिवारजनलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।