ट्वीटरलाई टक्कर दिन मेटाको ‘थ्रेड्स’ एप सार्वजनिक



मेटा कम्पनीले ट्वीटर जस्तै विशेषता भएको ‘थ्रेड्स‘ नामको नयाँ एप सार्वजनिक गरेको छ । इन्स्टाग्रामको एक एपका रूपमा थ्रेड्स एप सार्वजनिक भएको हो ।

‘थ्रेड्स’ एप बेलायतलगायत एक सयभन्दा बढी देशमा डाउनलोड गर्न सकिने तर युरोपेली संघका देशमा भने केही नियामक विषयका कारण अझै उपलब्ध नभएको जनाइएको छ ।


छुट्टै एपका रूपमा उपलब्ध थ्रेड्समा इन्स्टाग्रामकै अकाउन्टबाट लगइन गर्न सकिने छ । इन्स्टाग्रामकै फोटो राख्न वा इस्टाग्राममा भएका फलोअर्सलाई एकैपटक फलो गर्न सकिन्छ ।

मेटाका फेसबुक, हृवाट्सएप र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल यसअघि नै विश्वभर प्रसिद्ध छन् ।

यो थ्रेड्स एपलाई ट्विटरको प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने यो दुई अर्बपति एलन मस्क र मार्क जुकरबर्गबीचको युद्ध भएको टिप्पणी समेत गरेका छन् ।

कम्पनीले यसलाई अरू मास्टडन, ब्लुस्कीलगायत सोसल मिडियाको प्रतिद्वन्द्वी समेत भनेको छ ।