ग्रीसमा भिषण आगलागी, अहिलेसम्म ३५ वर्ग किलोमिटर जङ्गल खरानी



पुरै युरोपमा गर्मी र तातो हावा चलिरहेको बेला ग्रीसको जंगलमा ठुलो आगलागी भएको छ । आगलागी यति भीषण छ कि अहिलेसम्म ३५ वर्ग किलोमिटर जङ्गल जलेर खरानी भएको छ ।

प्रभावित स्थानबाट ठूलो मात्रामा मानिसलाई बाहिर निकालिएको छ । सञ्चारमाध्यमका अनुसार बुधबार राति लागेको आगो नियन्त्रणमा आएको भएपनि तीव्र हावाका कारण बिहीबार फेरि अनियन्त्रित भएको थियो ।


ग्रीसको फायर डिपार्टमेन्टले पछिल्लो २४ घण्टामा ग्रीसको जङ्गलमा ६२ स्थानमा आगलागीका घटना भएको जानकारी दिएको छ । ग्रीसको पश्चिमी एटिका क्षेत्रमा लागेको आगलागीका कारण मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय मानिसहरु आफ्नो घर छाड्न तयार छैनन् र प्रशासनको आदेशको अवहेलना गरिरहेका छन् ।

वनमा लागेको आगलागीका कारण ठूलो क्षति बेहोर्नुपरेको स्थानीयको भनाइ छ । ग्रीस र रोड आइल्याण्डमा संकटकाल लगाइएको छ । एल निनो प्रभावका कारण युरोपले आजकाल कडा गर्मीको सामना गरिरहेको छ । युरोपमा गर्मीले दिनहुँ नयाँ रेकर्ड तोडिरहेको छ ।