युक्रेनले रुसी सहरमा ड्रोन आक्रमण गरेको छ । आक्रमणमा, युक्रेनले रूसी गोला बारुद डिपोलाई विस्फोट गराएको बताइएको छ । यसअघि रुसले युक्रेनको विभिन्न क्षेत्रमा रकेट प्रहार गरेको थियो ।
मिडिया रिपोर्टका अनुसार युक्रेनले रुस नियन्त्रित क्रिमियाको ओक्ट्याब्रस्की सहरको रेलवे स्टेशन नजिकै ड्रोन हमला गरेको थियो । जसका कारण पुरै आकाश कालो धुवाँले ढाकेको थियो । क्राइमियाका प्रमुख सर्गेई अक्स्योनोभले ड्रोनले हतियार भण्डारण केन्द्रमा आक्रमण गरेको बताए ।
आक्रमणपछि ५ किलोमिटरको दायरा भित्र रहेका सबैलाई बाहिर निकालिएको थियो । रेलवे स्टेशन नजिकै आक्रमण भएको हुनाले यसका कारण धेरै रेलहरू पनि अवरुद्ध भएका छन् । यद्यपी अहिलेसम्म कसैको हताहतीको जानकारी आएको छैन ।
यसैबीच रुसले शनिबार खार्किभ क्षेत्रको कुप्यान्स्क सहरमा आक्रमण गरेको थियो । खार्किभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह सिनिहुबोभले युक्रेनी लडाकुहरू कुप्यान्स्क वरपरको क्षेत्रमा दृढतापूर्वक प्रवेश गरेको बताए ।