विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।
बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले प्रदेश सभामुखलाई माओवादीको सांसदमै गणना गरी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा संसदीय दलका नेताको हस्ताक्षरसहित थापाले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीको लागी दाबी पेस गरेका थिए । गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्र १३, (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सिट छ ।
तर, सभामुख जोडेर बहुमत पुर्याउन नहुने एमालेले बताउँदै आएको छ । यसअघि सभामुख सहितको दाबी ग्रहण नगर्न एमालेले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएको थियो ।