काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशको नयाँ सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा शुक्रबार रिट दायर गरेको छ । सभामुखको समेत हस्ताक्षर जोडेर सरकार गठनमा लागि आवश्यक ४७ प्रदेश सांसदको बहुमत देखाएर मुख्यमन्त्रीमा उद्धव थापालाई नियुक्त गरेको निर्णयविरूद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आइतबारको पेसी तोकेको छ । रिटमा प्रदेश प्रमुख प्रशुराम खापुङ्, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएको छ ।
रिट निवेदनमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा थापालाई नियुक्त गर्ने निर्णय उत्प्रेषणको आदेशले वदर गरी संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबभन्दा ठूलो दलको नेतालाई सरकारको नेतृत्व गर्ने अवसर दिनु दिलाउनु भनी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरि हक प्रचलनको समेत माग दाबी गरेको उल्लेख छ ।
सत्ता गठबन्धन दल नेपाली कांग्रेसका २९, माओवादीका १२, नेकपा (एकीकृत समाजवादी) का ४, जनता समाजवादीका एक र सभामुख बाबुराम गौतमले प्रदेशसभा सदस्यको हैसियतमा गरि ४७ प्रदेश सांसदको समर्थनमा प्रदेश प्रमुख खापुङ्समक्ष थापाको नेतृत्वमा बिहीबार सकार गठनका लागि दावी पेस गरिएको थियो । प्रदेश प्रमुखले थापालाई बिहीबार मुख्यमन्त्री नियुक्त गरि शुक्रबार पद तथा गोपनियताको शपथसमेत ग्रहण गराइसकेका छन् ।