काँग्रेसले सदस्यता अभियान चलाउने, ७ लाख नयाँ सदस्य थप्ने लक्ष्य



काठमाडौँ । नेपाली काँग्रेसले एक वर्ष सदस्यता विस्तार अभियान चलाउने भएको छ ।

मंगलबारदेखि शुरु भएको कांग्रेसको केन्द्रीय समितीको बैठकमा महामन्त्री गगन थापाले आगामी बर्ष पार्टी सदस्यता अभियान चलाउने कार्यक्रम घोषणा गर्दै यस कार्यक्रमबाट ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कार्ययोजना  प्रस्तुत गरेका छन् ।


बैठकमा महामन्त्री थापाले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने कार्ययोजना प्रस्तुत गरेका हुन् ।

उनले सदस्यता अभियान बारे बैठकमा प्रस्तुत गर्दै भने- ‘क्रियाशील सदस्यताको वितरण वर्षभरि नै गर्नेगरी यसका लागि जिल्ला कार्यसमितिलाई फारम पठाइसकिएको छ। अब इच्छु्क साथीहरूले प्रक्रिया पुरा गरेर पार्टीको क्रियाशील सदस्यता लिन सक्नुहुने छ। कांग्रेसको क्रियाशील सदस्ता वितरण अनलाइनमार्फत् गर्ने कुरालाई हामीले सुरू गर्‍यौं। यसलाई प्रभावकारी बनाउने, संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आकर्षण र गर्न र समाजको विविधता झल्कनेगरी यो वर्षको साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घरघर जाऊँ पार्टी सदस्य बनाऊँ भन्ने अभियान चलाउन अन्तर्गत राष्ट्रिय अभियान सुरू हुने छ । ५ लाखदेखि ७ लाख सदस्यता बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिने छ।’

आज शुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले अहिले पार्टीको आगामी एक बर्षको कार्यक्रमको क्यालेन्डर प्रस्तुत गरिरहेका छन् । कांग्रेसले पहिलो पटक यो केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रशारण गरेको छ ।