अमेरिकी राष्ट्रपति बाइडेन बेलायतमा



अमेरिकी राष्ट्रपति जो बाइडेन लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा बेलायत पुगेका छन् ।

युक्रेनलाई ‘क्लस्टर बम’ पठाउने निर्णयका कारण आलोचित भएका बाइडेनको यो भ्रमणलाई महत्वपुर्ण रुपमा हेरिएको छ ।


बेलायत र क्यानाडाले युक्रेनलाई अमेरिकाले गर्न लागेको बम आपूर्तिको विरोधसमेत गरेका छन् ।

‘क्लस्टर बम’ ले सर्वसाधारणको क्षति बढ्ने भन्दै यी दुइ राष्ट्रहरुले अमेरिकाको विरोध गरेकै बेला बाइडेन बेलायत पुगेका हुन् ।

बेलायतमा रहँदा उनले बेलायती राजा चाल्र्ससँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उनले सोमबारै बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग भेटघाट गर्नेछन् ।

बाइडेन र बेलायती प्रधानमन्त्री सुनकबीच नेटो शिखर सम्मेलनमा युक्रेनलाई पनि समावेश गर्ने विषयमा छलफल हुने आँकलन छ ।

बाइडेनको बेलायत भ्रमणअघि प्रधानमन्त्री सुनकले बेलायत अमेरिकाको सबैभन्दा महत्वपूर्ण ब्यापार, रक्षा र कुटनीतिक साझेदार रहेको उल्लेख गदै बाइडेनको बेलायत भ्रमण निकै महत्वपूर्ण रहेको बताए ।

बेलायतबाट बाइडेन मंगलबार लिथुआनिया जानेछन् । फिनल्याण्ड नेटोमा आवद्ध भएपछि पहिलो पटक शिखर सम्मेलन हुन लागेको हो ।