अफ्रिकी देश नाइजरमा सेनाले आफूले ‘कू’ गरेको दाबी गरेको छ । नाइजार सेनाले राष्ट्रपति मोहम्मद बजौमको सरकारलाई ध्वस्त पारेको दाबी गर्दै राष्ट्रपति बजुमलाई थुनामा राखेको बताएको छ । सैनिकहरूले संयुक्त राष्ट्र-अमेरिकी हस्तक्षेपको विरोध गर्दै उनीहरूलाई धम्की समेत दिएका छन् ।
मिडिया रिपोर्टका अनुसार नाइजरको राष्ट्रिय च्यानलमा कर्नेल अमाडो अब्द्रामाने आफ्ना साथी सैनिक र अधिकारीहरूसँग टिभीमा देखा परेका थिए । उनले टिभीमा बजुमको सरकार ढाल्ने घोषणा गरेका थिए । उनले टिभीमा लाइभ आएर देशको बिग्रँदै गएको सुरक्षा व्यवस्था र खराब शासनका कारण राष्ट्रपति शासन अन्त्य गरेको घोषणा गरेका थिए । नाइजरको सिमाना सिल गरिएको छ । अब न त देश बाहिर जान पाइन्छ न बाहिरबाट भित्र पस्न पाइन्छ । देशभर कर्फ्यू लगाइएको छ ।
विद्रोहको जानकारी प्राप्त हुने बित्तिकै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरका राष्ट्रपतिलाई सम्भव भएसम्म सहयोग गर्ने बताएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि आफूले राष्ट्रपतिसँग कुरा गरेको बताएका छन् । उनलाई संयुक्त राष्ट्र संघबाट पूर्ण सहयोग गर्न भनिएको छ । यद्यपि नाइजरका सैनिकहरूले यसको विरोध गरेका छन्। नाइजर सेनाले विदेशी हस्तक्षेपको बारेमा चेतावनी दिँदै नतिजा भोग्न तयार रहनुपर्ने बताएको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले नाइजरमा सत्ता कब्जा गरेकोमा सेनाको निन्दा गरेका छन् ।