काठमाडौँ । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका ६ जनाको शव काठमाडौं ल्याइएको छ ।
नागरिक उडड्यन प्राधिकरणले दुर्घटनामा परेर निधन भएका ६ जनाको शव मंगलबार साँझ काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा शव ल्याइएको जानकारी दिएको हो ।
६ जनाको शव अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको हो ।
मंगलबार बिहान करिब १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो । पछि हेलिकप्टर लिखुपिके गाउँपालिका-५ स्थित लामजुरामा दुर्घटनामा परेको अवस्थामा फेला परेको थियो ।
हेलिकप्टरमा पाइलट चेतबहादुर गुरूङ र ५ जना मेक्सिकन नागरिक थिए । हेलिकप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए ।