काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन नापीका कर्मचारी अरुणकुमार श्रेष्ठलाई आज जोरपाटीस्थित घरबाटै पक्राउ गरेको हो ।
अमिन हुँदा सरकारी जग्गा व्यक्तिको नाममा गर्न भूमिका खेलेको उनीमाथि आरोप छ । योसँगै सरकारी जग्गा हिनामिना प्रक्ररणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।
यसअघि यही साउन ५ गते प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजालाई पक्राउ गरेको थियो ।
यो प्रकरणमा हालसम्म पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत १९ जना पक्राउ परिसकेका छन् ।