भूमिहीनको समस्या समाधान गर्न ध्यानाकर्षण



काठमाडौँ  । सांसद महेशकुमार महराले शुक्लाफाँटा आरक्षबाट सूचना नदिई हटाइएका भूमिहीनको अझै व्यवस्थापन हुन नसकेको बताएका छन्  ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को मन्त्रालयगत शीर्षकमाथि भएको छलफलका क्रममा उनले सरकारले उक्त समस्या समाधानका लागि अध्ययन गर्न आयोग बनाए पनि समस्या समाधान नभएको बताए ।


सांसद अनिता देवकोटा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सञ्चालन गर्न सुझाव दिँदै स्थानीय तहले भूमि बैंक स्थापना गर्न सक्ने गरी कानूनी व्यवस्था भए पनि कार्यान्वयन नभएको बताइन् । सांसद उदयबहादुर बोहराले केही मन्त्रालयले स्थानीय तहको अधिकार खोसेको र केही मन्त्रालयले संविधान र सङ्घीयता विपरीत काम गरेको आरोप लगाए ।

सांसद नारायणप्रसाद दाहालले छुट्याइएका कार्यक्रममा पनि बजेटको सुनिश्चिता हुनुपर्ने माग गरे । उनले पृथ्वीराजमार्गअन्तर्गत नागढुङगा–नौबीसे सडकलाई ध्यान दिएर निर्माण गर्न सदनको ध्यानाकर्षण गराए ।

सांसद गोमादेवी तिमिल्सिनाले २० वर्ष पुराना गाडीलाई दुर्गममा चलाउने र सडक पनि राम्रो नहुँदा दुर्घटना बढदै गएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद सुरेशकुमार आलेमगरले केही सहकारीले उपभोक्तालाई दुःख दिएको कुरा बाहिर आइरहेको भन्दै संसद्को ध्यानाकर्षण गराए । 

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका लागि बिनियोजन बजेटमाथि छलफल भएको हो ।

राष्ट्रियसभाको आगामी बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, सिँचाइ तथा जलस्रोत मन्त्रालय र खानेपानी मन्त्रालयको शीर्षकमाथि छलफल हुनेछ ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते बुधबार २ः३१ मिनेटमा बस्नेछ ।