फौजदारी अभियोग लागेका पदाधिकारीलाई राजनीतिक संरक्षण हुनु हुँदैन : महामन्त्री थापा [पूर्णपाठ]



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फौजदारी अभियोग लागेको पदाधिकारीलाई राजनीतिक रुपमा संरक्षण गर्ने राजनीतिक वा नैतिक आधार कुनै पनि दलसँग हुन नहुने बताएका छन् । कार्य समितिको बैठकमा भ्रष्टाचार र सुशासनको विषयमा १३ बुँदे प्रस्ताव राख्दै महामन्त्री थापाले बालकृष्ण खाणप्रति लक्षित गर्दै सो प्रस्ताव राखेका हुन् । 

उनको प्रस्ताव छ, ‘कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने पार्टीसँग अलग राख्नुपर्छ, त्यस्तो अवस्था हुन्न भने निलम्बन गर्नुपर्छ ।’ संसद्को नियमावलीले ३ वर्षभन्दा बढीको सजाय हुने मुद्दामा निलम्बन हुने व्यवस्था स्मरण गराउँदै उनले त्यो पार्टीमा पनि पालना गराउनुपर्ने बताए । भोलि आफूलाई परे पनि त्यो कुराको कार्यान्वयन गर्नुपर्ने बताए ।


‘सुशासन र भ्रष्टाचारलगायत विषयमा १३ बुँदे प्रस्ताव ल्याएको छु । लिखित मतको रूपमा पार्टीको दस्तावेजमा राख्नका लागि यो ल्याएको हुँ,’ उनले भने, ‘बैठकको मुड हेर्‍यौं, बुझ्यौं त्यसैले मेरो मत दर्ज गराउँछु । मेरो मतका रूपमा पार्टीमा दर्ज गराउछु ।’

भ्रष्टाचारका सन्दर्भमा सरकारले चालेका कदममा कांग्रेसले साथ दिनुपर्ने थापाको भनाइ थियो । उनले भने, ‘भ्रष्टाचारको जात, लिंग र परिवार हुँदैन । केही कारणले कसैले छुट पनि पाउनुहुन्न । कसैले भारी पनि बोकाउनुहुन्न । कोही व्यक्तिलाई अनावश्यक लान्छना लगाउने कुरा बन्द हुनुपर्छ । कांग्रेसले सरकारले अगाडि बढाएका कुरामा साथ दिनुपर्छ । कांग्रेस भएका कारणले कसैले छुट पाउनुहुन्न । कांग्रेस भएकै कारणले भारी पनि बोक्नुहुन्न ।’

362608516_1363396857857163_7893098747662538755_n
362938525_295614916463943_4482666124297340007_n