बलेवा । बागलुङ बजारमा बिक्री वितरण भइरहेको दुग्धजन्य पदार्थको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो आएपछि नियमनकारी निकायले निगरानी बढाएका छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका नियमनकारी निकाय सक्रिय भएका हुन् ।
बिहीबार बिहानै उपभोक्ताले दूध खरिद पर्नुपूर्व अनुगमन टोली दुग्ध उद्योग तथा बिक्री केन्द्रमा पुगेको थियो । दूधबाट बनेका पनिर, बटर, छुर्पी, घिउ र खुला तथा प्याकिङ गरिएको दूधको विषयमा जानकारी लिन अनुगमन गरिएको थियो ।
सदरमुकाममा अधिकांश डेरी पसल रहेको र उद्योग कम रहेकाले मुकाम बाहिरबाट दूध ल्याएर बिक्री हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताएका छन् । ‘उपभोक्ताले मध्यराति फोन गरेर दुग्धजन्य पदार्थको विषयमा गुनासो गर्नुभयो, हामी तत्काल एक्सनमा गयौँ’, उनले भने ‘परीक्षणबाट नतिजा आउन बाँकी छ ।’ सदरमुकामका एक उद्योग र तीन बिक्री केन्द्रको अनुगमन गरेको टोलीले दुई ठाउँमा मात्रै दूध तथा दुग्धजन्य पदार्थ फेला पारेको थियो ।
‘गुणस्तर पत्ता लगाउन नमूना लिएका छौँ’, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सौरभ श्रेष्ठले भने , ‘नमूना पोखरा पठाइएको छ, नतिजा आएपछि आवश्यक कारबाही हुन्छ ।’