ट्राफिक प्रहरी कार्यालय पर्साद्वारा २१ प्रतिशत बढी राजस्व सङ्कलन



वीरगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०७९/८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारीसाधनमाथि कारबाही गरी आव २०७९/८० मा रु तीन करोड ४२ लाख ६५ हजार राजस्व सङ्कलन गरेको हो ।

यो अघिल्लो आव २०७८/७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले जानकारी दिए । अघिल्लो आव २०७८/७९ मा सो कार्यालयले रु दुई करोड ८५ लाख २१ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो । ट्राफिक जाँचमा गरिएको कडाइका कारण यस आव २०७९/८० मा राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक थापाको भनाइ छ ।


यस्तै आव २०७९/८० मा पर्सा जिल्लामा भएको तीन सय ४७ सवारी दुर्घटनमा ३९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९२ जना गम्भीर घाइते भएका छन् । अघिल्लो आव २०७८/७९ मा दुई सय ६० सवारी दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आव २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चार सय ४८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ६३ हजार दुई सय ३८ जनाको सहभागिता रहेको जनाएको छ ।