रैथाने बालीको संरक्षण गर्न सामुदायिक बीउ बैंक



नवलपरासी । नवलपुरको कावासोतीमा रहेको सामुदायिक बीउ बैंकले रैथाने बालीको संरक्षण गर्दै आएको छ । रैथाने बाली क्रमशः लोप हुँदै जान थालेको अवस्थामा सामुदायिक बीउ बैंकले यसको संरक्षण गर्दै आएको हो । 

कावासोती–१४, त्रिभुवनटारमा रहेको बीउ बैंकमा हाल धानका मात्रै विभिन्न ४५ प्रजाति रहेको बीउ बैंकका अध्यक्ष पार्वती भण्डारीले बताइन् । “धेरैजसो हाम्रै पुर्खाले लगाउने गरेको धान अहिले हराउँदै जान थालेका छन्, त्यस्ता प्रजाति लोप नहोस् भनेर बीउ उत्पादन गर्दै आएका छौँ”, उनले भनिन् । 


कनक जिरा, बकुल्ले अनदी, मगर अनदी, थापा चिनी, आम ज्योति, पहेले धान, घिउपुरी, झिनुवा, आँप झोते,  चमेली, मिठाइ, छ्याङा, कालो नुनिया, बासमती,  दूधराज, वार, सावित्री लगायतका धानको बीउ बैंकमा संरक्षण गरिएको अध्यक्ष भण्डारीले बताइन्। 

अन्नबालीसँगै लहरेबाली, कोसेबाली, तेलहन, दलहन बालीका विभिन्न प्रजातिका बीउ संरक्षण गरिएको र सिजनअनुसार किसानलाई बिक्री वितरण गर्ने गरिएको उनले बताइन्। सामुदायिक बीउ बैंकमा ९५३ घरपरिवार आबद्ध छन् । उनीहरूले बीउ बैंकमा रहेका रैथाने प्रजातिका बीउ लिएर खेती गर्ने गरेका छन् । साथै स्थानीय प्रजातिको बीउ उत्पादनमा समेत सहयोग गर्दै आएका छन् ।