काठमाडाैँ । युवा किसान सङ्घको राष्ट्रिय भेलाले उत्कल सापकोटाको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । यही असार ४ र ५ गते काठमाडौँमा सम्पन्न भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
भेलाको समापन समारोहमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले कृषकलाई रोपाइँको समयमा रासायनिक मल तत्काल उपलब्ध गराउन माग गरे । उनले रासायनिक मलका लागि सरकारले रु ३० अर्ब विनियोजन गरेको भए पनि आयातमा ढिलासुस्ती भएकाले उनीहरूले मल नपाएको बताए ।
परम्परागतरूपमा गरिँदै आएको खेती प्रणालीलाई प्रविधि प्रयोग गरी आधुनिकीकरण गर्नुपर्ने उपमहासचिव पौडेलको भनाइ थियो । पार्टीको मोर्चा फाँट प्रमुखसमेत रहेका उहाँले युवालाई यस क्षेत्रमा आकर्षित गर्न सकेमा कृषि उत्पादन वृद्धि गर्न सकिने उल्लेख गर्दै उनीहरूलाई प्रविधिमैत्री बनाउनपर्नेमा जोड दिए ।
अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले उत्पादन वृद्धि गर्न किसानलाई मल र बीउबिजनको व्यवस्था गर्नुपर्ने बताए । किसानलाई अध्ययन र अनुसन्धानमा केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य प्रमेश पोखरेलले मल आयातको प्रबन्ध गर्न माग गर्दै विकास र आर्थिक समृद्धिका लागि यस क्षेत्रमा गरिने लगानीले आत्मनिर्भर अर्थतन्त्रको विकास हुने बताए ।