यथास्थितिमा बजेट पास हुन नदिने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा बजेट पारित गर्न नहुने निष्कर्ष निकालेको छ । विहिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि उपाध्यक्ष राजेन्द्र पाण्डेले सबैजसो सांसदहरूले यथास्थितिमा बजेट पारित गर्न नहुने अडान राखेको बताए ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यसबारे गठबन्धनमा छलफल गर्ने साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि जानकारी गराउने निर्णय गरेको हो ।


संसदीय दलका उपनेता पाण्डेका अनुसार यथास्थितिमा बजेट पास हुन नदिने अडान सांसदहरु राखेका थिए । ‘यथास्थितिमा यो बजेट पारित गर्नुहुन्न हुन्न भन्ने कुरा सबै साथीहरूले गर्नुभएको छ । अध्यक्षलाई यो विषयलाई लिएर प्रधानमन्त्री, अर्थमन्त्री र गठबन्धनसँग साझा ढंगले बसेर छलफल गर्नुस् भन्ने सुझाव आएको छ,’ उनले भने । 

यस बिषयमा प्रधानमन्त्री र अर्थमन्त्रीका साथै सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गर्न अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपाललाई आग्रह गरेको उनको भनाइ छ ।