काठमाडौँ । विगत दुई वर्ष वर्षाको समयमा मेलम्चीको पानी काठमाडौँ ल्याउन नसकिएकामा यो वर्षदेखि वर्षाभर पनि ल्याउने योजना बनाइएको छ । ठूलो वर्षा भएर आयोजनाको माथिल्लो भागमा क्षति हुने अवस्था भएमा बाहेक सामान्य वर्षा भइरहे पनि पानी नियमित सञ्चालन गर्न लागिएको हो ।
ढोकाहरू प्रविधिमार्फत खोल्न र बन्द गर्न सकिने तथा बाढीको पूर्वसूचना थाहा हुने प्रविधिका कारण वर्षामा समेत नियमित सञ्चालनको योजना बनाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
अहिले सबै ढोकाहरू उपकरणमार्फत (हाइडो मेकानिकल्ली) बन्द गर्ने र खोल्ने व्यवस्था मिलाइसकिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। ढोकाहरू मानिस नगएरै सञ्चालन गर्न सकिने भएकाले पानी सफा हुँदासम्म चलाइराख्न सकिने उनको भनाइ थियो । सूचना अधिकारी पन्तले भने, ‘पानी धमिलो आएको बेला बन्द गर्ने गरी उपाय अपनाइएको छ ।’
सामान्य वर्षामात्र हुँदा पानी नियमित पथान्तरण गर्न सकिने भए पनि ठूलो किसिमको बाढी आयो र ढुंगाहरु नै बगाउने भएमा त्यस्तो अवस्थामा पूरै बन्द गर्नुपर्ने उनले बताए। पानी धमिलो भएमा थोरै पानी पठाएर त्यसलाई धुने योजना समितिको छ ।
‘कहिलेदेखि पानी नियमित सञ्चालन गर्ने भन्ने विषयमा अहिले समिति पर्ख र हेरको अवस्थामा रहेको छ । ठूलो क्षति हुने अवस्थामा बाहेक पानी ल्याउन रोकिँदैन । माथितिर ठूलो वर्षा भएको र बाढी आउने सम्भावना छ भन्ने पूर्वसूचना आउँदा ढोका बन्द गरिने छ’, सूचना अधिकारी पन्तले भने, ‘सुरुङभित्र पानी रहिरहन्छ र बीचमा केही समयका लागि बन्द भए पनि पानी सङ्लो हुँदा पुनः चलाउने गरी तयारी गरिएको छ ।’
गत वर्ष जसरी यो महिनादेखि त्यो महिनासम्म बन्द गर्ने भनी अहिले नै तालिका बनाएर नगरिने भए पनि बाढीका कारण बन्द गर्नुपर्दा छोटो समयका लागिमात्र बन्द हुनसक्ने उनको भनाइ थियो । धमिलो पानी आएको समयमा बन्द गर्दै खोल्दै गरेर चलाउन सकिने भए पनि त्यसो गर्दा सुरुङमा बालुवा जाने सम्भावना बढी हुन्छ । पछि केही समय सुरुङ सफा गर्न पनि पानी वितरण बन्द गर्नुपर्ने हुँदा पहिले नै सावधानीपूर्वक चलाउन लागिएको हो ।
सुरुङको नियमित मर्मतसम्भार र निरीक्षण योजना बनाएर गरिँदै आएको छ । वर्षामा पनि धमिलो पानी आउँदा केही समयका लागि बन्द गरे पनि पुनः सञ्चालन गर्न समस्या नहुने सूचना अधिकारी पन्तले बताए । सुरुङमा रहेको १ नं ढोकाबाट पानी गएपछि नौ नं ढोकाले पखाल्ने काम गर्छ । पखालेपछि केही समय सुरुङमा पानी नराखिने र त्यो त्यो ढोका सफा भएपछि पुनः सुरुङतर्फ पानी पठाइने योजना रहेको छ ।
सामान्य वर्षाले मेलम्ची नदीको सतहमात्र बढेको छ भने पानी सुरुङमा नियमित पठाउन समस्या नहुने समितिले जनाएको छ । विसं २०७८ असार १ मा आएको जसरी एकै पटक ठूलो बाढी आएमा भने बन्द गर्नुपर्ने हुनसक्ने उनले बताए । संरचना नै क्षति हुने गरी बाढी आएमा मात्रै लामो समय सुरुङ बन्द हुनसक्छ ।