कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढालाई टेलिफोन सम्पर्क गर्न रुख चढेको सम्झना ताजै छ । नेपाल टेलिकमको ‘टावर’ पुगेपछि अहिले उनको बाध्यता हटेको छ ।
उनी अहिले नेपाली सिमकार्डकै प्रयोग गरेर टेलिफोन सम्पर्क गर्ने गर्छन् । “यहाँ टावर नहुँदा नेपाली सिमबाट सम्पर्क गर्न डाँडो वा रुख उक्लिनुपर्थ्यो, त्यसैले अधिकांश स्थानीयले भारतीय सिम प्रयोग गर्थे”, उनले भने, “अहिले यो बाध्यता हटेको छ, बिजुलीसँगै टावर बनेपछि सहजै सम्पर्क हुन्छ ।”
कञ्चनपुरको दुर्गम भेगका रुपमा चिनिने भीमदत्त नगरपालिका–९ को खल्ला, मसेट्टी र टुँडिखेलले स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणमा गति लिएको छ । विकासका पूर्वाधारबाट पछाडि परेका चुरे फेदीका यी बस्ती सडक सञ्जाल, विद्युत् र सञ्चारलगायतका सेवा सुविधामा जोडिएका छन् ।