विराटनगर । उच्च अदालत विराटनगरले कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई पाँच दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ ।
मन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अपहेलनासम्बन्धी परेको मुद्दाको सुनुवाई गर्दै बुधबार बसेको न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले पाँच दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
मंगलबार अधिवक्त उद्ववचन्द्र घिमिरे र रजिस्ट्रार जितेन्द्रबाबू थपलियाले उच्च अदाल विराटनगरमा अपहेलना मुद्दामा रिट निवेदन दायर गरेका थिए ।
गत १० असारमा विराटनगरस्थित एक कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको गम्भीर आरोप लगाएका थिए । न्यायाधीशलाई उनले फटाहाको संज्ञासमेत दिएका थिए ।
मन्त्रीले राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अपहेलनाको बनेको जाहेरीमा उल्लेख छ ।
न्यायाधीशको नाम किटान गरि संविधान र कानूनको उल्लंघन गर्दै मन्त्रीले दिएको अभिव्यक्ति न्यायायलमाथि घृणा फैलाउने उद्देश्यले प्रेरित भएको दावी निवेदनमा गरिएको छ ।