उत्तरपूर्वी राज्य मणिपुरमा एक हजार २०० भन्दा बढी महिलाको नेतृत्वमा रहेको भीडको अवरोधपछि सुरक्षा नियन्त्रण नजिक पुगेका एक दर्जन लडाकूलाई आइतबार रिहा गरेको भारतीय सेनाले जनाएको छ ।
भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शनिबार इम्फाल पूर्वको इथम गाउँमा लडाकूहरू फसेका थिए । तर, महिला नेतृत्वको भीडले घेरिएपछि सेनाले हार मान्नुप¥यो, जसले सरकारी सेनालाई कारबाही अघि बढाउनबाट रोकेको थियो ।” “करिब एक दिनसम्म चलेको गतिरोध नागरिक हताहत हुनबाट जोगिन लडाकुलाई रिहा गर्ने निर्णयपछि अन्त्य भएको हो,” विज्ञप्तिमा भनिएको छ ।
गैर–आदिवासी मेइटिस समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा आदिवासी प्रदर्शनको क्रममा राज्यमा ठूलो मात्रामा हिंसा भड्किएपछि उत्तरपूर्वी राज्यले मे ३ देखि द्वन्द्वको सामना गर्नुपरेको छ । जातीय द्वन्द्वमा १०० भन्दा बढीको मृत्यु भएको थियो ४० भन्दा बढी मानिस विस्थापित भएका थिए ।
राज्यमा हिंसाका क्रममा करिब ३०० जना घाइते भएका छन् भने करिब एक हजार ७०० घर जलेका छन् । अधिकारीहरूले राज्यमा भीड जम्मा हुन नदिन कर्फ्यु आदेश जारी गरी इन्टरनेट सेवाहरूमा पूर्ण प्रतिबन्ध लगाउनु परेको थियो ।