बैतडीमा कैदीबन्दी व्यवस्थापनमा चुनौती



बैतडी । बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ ।   कूल २५ जनाको क्षमता रहेको कारागारमा हाल ७३  कैदीबन्दी छन् ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती थपिएको जेलर धारा भण्डारीले जानकारी दिए । उनले भने, “व्यवस्थापनमा चुनौती छ, ठाउँ अभावमा एउटै शय्यामा तीन कैदीबन्दीसम्म सुत्ने गरेका छन्, । शय्यामाथि शय्या जोडेर बसेका छन् । कारागारभित्र ठाउँ नभएर टेन्ट लगाएर राखेका छौँ, पानी पर्दा समस्या हुने गरेको छ । तेब्बर कैदीबन्दी हुँदा सरुवा रोगको जोखिम पनि बढेको छ । ”


एकातिर कोठा अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा बसोबासको व्यवस्था मिलाउन गाह्रो भइरहेको छ । कैदीबन्दीलाई शौचालय प्रयोग, सरसफाइको लागि समेत समस्या हुने गरेको छ । दर्शकौं पुरानो जीर्ण कारागार भवन पुनः निर्माण नहुँदा यहाँ सुरक्षा चुनौती थपिएको छ । विसं २०४० मा निर्माण गरिएको कारागार भवन पुनःनिर्माण नहुँदा जीर्ण बनेको हो ।

“जीर्ण भवन रहेको र कोठा पनि कम भएकाले समस्या झेल्नुपरेको छ । जेलर आवास गृह, सुरक्षा व्यारेक पनि छैन”, भण्डारीले भने,“जेलरले २४सै घण्टा बस्नुपर्ने भए पनि आवास गृह छैन्, सुरक्षा ब्यारेक बनेको छैन् । दिउँसो स्वास्थ्यकर्मी र राति सुरक्षाकर्मी बस्ने गरेका छन् । ”

कुनै कैदीबन्दीका आमाबुबा बितेर किरिया गर्नुपरे पनि छुट्टै व्यवस्थासमेत नभएको बताइएको छ । बिजुली र सिसिटिभी बेलाबेला बिग्रिरहने र त्यसको मर्मतका लागि बजेट नहुँदा समस्या हुने गरेको भण्डारीले बताए ।

अनुगमन तथा निरीक्षणका लागि सरोकारवाला निकाय आउने र हेरेर जाने भए पनि समस्या भने जस्ताको त्यस्तै रहेको छ । नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागलाई जानकारी गराए पनि कहिले बन्ने टुङ्गो छैन ।