बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित भए : मुख्यमन्त्री शर्मा



कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित भएको बताएका छन् । नागरिक लगानीकोषको कर्णालीमा स्थापना भएको शाखा उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शर्माले बैंक तथा वित्तीय संस्थाहरू निश्चित घराना, भूगोल र सहर केन्द्रित भएका कारण ग्रामीण अर्थतन्त्रको विकासमा चुनौती थपिएको बताए ।

उनले भने, “हाम्रा प्राकृतिक स्रोतसाधनको परिचालन, स्थानीय उत्पादन वृद्धि गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरू ग्रामीणस्तरसम्म पुग्नुपर्ने थियो । तर त्यसो भएको छैन । लगानी उत्पादन भए पनि उत्पादनभन्दा बाहिर भएका कारण ग्रामीण अर्थतन्त्र खस्किँदो अवस्थामा छ । बैंक तथा वित्तीय संस्थाहरूले हाम्रा लगानीका क्षेत्रहरू चिन्न सकेका छैनन् । नागरिक र राज्यको लगानी सुरक्षित गर्ने र सही ठाउँमा लगानी गरेर उत्पादन वृद्धि गर्नेतिर नागरिक लगानी कोष लाग्नुपर्छ ।”


उनले प्रदेश सरकारले समृद्धि कर्णाली अभियान थालेर वर्षमा १० हजार बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ आफ्ना नीति तथा कार्यक्रमहरू अगाडि बढाइरहेकाले त्यसमा पनि कोषको सहयोगको खाँचो रहेको बताए । उनले भने, “समृद्धिको अभियानमा सबै सरोकारवाला निकायहरू एकबद्ध भएर लागौँ । ग्रामीण उत्पादनहरू वृद्धि गरी बेरोजागरी समस्या समाधान गरी मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गर्नुछ । कर्णालीका धेरै प्राकृतिक स्रोत र साधनको सदुपयोग भएको छैन । त्यसतर्फ प्रदेश सरकार लागिरहेको छ ।”