काठमाडौँ । सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ ।
सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर सङ्खुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो ।
भेटमा सांसद खड्काले सङ्खुवासभामा आएको बाढीले दर्जनौँ जलविद्युतगृहमा क्षति पुग्दा राज्यलाई अरबौँको क्षति हुनुका साथै जलविद्युतगृहमा कार्यरत मजदुरसमेत बेपत्ता भएको प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए । साथै उनले क्षतिको निरीक्षण गरी उद्धार र राहतका लागि सरकारबाट पहल गर्न आग्रह गरेका छन् ।।
भेटमा प्रधानमन्त्री दाहालले बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएकाको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र कर्मचारीलाई निर्देशनसमेत दिइसकेको बताएको उनले जानकारी दिए । बाढीले पुर्याएकाे क्षतिबारे अवलोकनमा जाने प्रधानमन्त्रीले जानकारी दिएको सांसद खड्काले बताए ।
प्रतिनिधिसभा सदस्य खड्कासँगै प्रदेशसभा सदस्य राजेन्द्र कार्की र विभिन्न दलका नेताहरू प्रधानमन्त्रीलाई भेट्न आज बिहानै बालुवाटार पुगेका थिए ।
सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ भने सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएकाे छ ।