बजेटबारे एमाले अध्यक्ष ओलीको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधबाट प्रेरित : सांसद शर्मा



काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले बजेटबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद शर्माले बजेटबारे ओलीको अभिव्यक्ति सत्ताबाट विमुख हुनुपर्दाको पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित रहेको बताएका हुन् ।


अध्यक्ष ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटलाई ‘शून्य मार्क’ दिएका थिए । उनले ओलीले बजेटलाई राजनीतिक रङ्ग दिएको समेत टिप्पणी गरे ।

बजेट नागरिकको हितमा हुनुपर्ने उल्लेख गर्दै सांसद शर्माले बजेटको वस्तुनिष्ठ समीक्षा हुनुपर्ने आफ्नो मान्यता रहेको बताए ।