काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ सरेको छ । बुधबार उजुरीकर्ताहरूसँगको छलफलपछि कार्कीलाई बोलाउने निर्णय भएको हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाइका लागि प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीलाई बिहीबार बोलाउने निर्णय गरेको हो । उजुरीकर्ताहरूको छलफलक्रममा विवाद सिर्जना भएपछि समितिले केही उजुरीकर्ताहरूसँग मात्रै छलफल गरेको थियो ।
बैठकमा उजुरीकर्तामध्येका वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई, अधिवक्ता अमृत खरेल, उजुरीकर्ता रतन भण्डारीलगायतले सुनुवाइ समितिको बैठक बहिस्कार गरेका थिए । सुरुमा सामूहिकरुपमा बैठकमा सहभागी हुन पाउनुपर्ने माग राखेका उनीहरुले पछि समितिको वैधतामाथि प्रश्न उठाएका थिए । उजुरीकर्ताहरूसँग कसरी छलफल गर्ने भन्ने विषयमा विवाद हुँदा उनीहरू बाहिरिएका थिए ।
बुधबार बिहान २३ जना उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिले छलफलका लागि बोलाएको थियो । सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरिरहँदा उजुरीकर्ताको एक समूहले भने समिति नै अवैध भन्दै विरोध जनाएका हुन् ।
सुनुवाइ समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो । कार्कीको बिहीबार संसदीय सुनुवाइ हुने तयारी भइरहँदा समितिले बुधबार उजुरीकर्ताहरूलाई छलफलमा बोलाएको हो ।