प्रधानमन्त्री निवास निल्न खोज्ने पक्राउ पर्न थालेका छन्, यो शुद्धिकरण यत्तिमै रोकिने छैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणपछि सरकार विकृतिको डंगुर सफा गर्ने अभियानमा लागेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले बजेटमाथि राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्रीले ललिता निवासको जग्गा खान खोज्ने पक्राउ पर्न थालेको बताउँदै अनुसन्धान यत्तिमै नरोकिने बताएका हुन् ।


उनले भने,’यो शुद्धिकरण यत्तिमै रोकिने छैन । निरन्तर अगाडि बढ्ने छ । प्रधानमन्त्री निवास निल्न खोज्ने पक्राउ पर्न थालेका छन् । मिटरब्याजी ठगलाई कारबाही सुरु भएको छ । यो लडाइँमा सदन र जनताको समर्थनको आवश्यकता महसुस गरेको छु ।’

उनले नक्कली भुटानी प्रकरणमा ठूलो कारबाहीपछि जनतामा विश्वास जाग्न सुरु भएको बताए । उनले भने, ‘हाइप्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने आममनोविज्ञान बनिरहेको थियो। त्यसले जनतामा ठूलो आक्रोश जन्माइरहेको थियो। त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो। र नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कारबाहीपछि जनतामा विश्वास जाग्न सुरू भएको छ।’

उनले आफ्नो नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्र जागेको बताएका छन् । आफू प्रधामनन्त्री बन्दै गर्दा श्रृलंकाजस्तो स्थिति आएको टिप्पणी भइरहेकोमा अहिले अर्थतन्त्र जागेको उनले बताए ।