काठमाडौँ । विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले शीर्षकमा प्रदेशको नामको सट्टा अंक उल्लेख भएको भन्दै नियमापत्ति जनाए। सचेतक बर्तौलाको नियमापत्तिका सन्दर्भमा सभामुख देवराज घिमिरेले पर्यटनमन्त्री सुदन किरातीलाई सोबारे स्पष्ट पार्न समय दिएका थिए ।
बैठकमा पर्यटनमन्त्री किरातीले उल्लेख भएका अङ्क सच्याइ प्रदेशको नाम राख्ने बताए । तर सचेतक बर्तौलाले सो विषय गम्भीर भएको र नसच्याएसम्म बैठक अघि बढ्न नहुने तर्क गरेपछि सभामुख घिमिरेले आजको छलफलबाट उक्त मन्त्रालयको नाम सूचीबाट हटाई बैठक नियमित सञ्चालन गरेका थिए ।