नेपाल एयरलाइन्सको क्वालालम्पुर–भैरहवा उडान सुरु



लुम्बिनी । एकवर्ष अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा परीक्षण उडान गरेको नेपाल वायुसेवा निगमको जहाजले मंगलबारदेखि मलेसिया–भैरहवा उडान सुरु गरेको छ ।

मंगलबार बिहान मलेसियाको राजधानी क्वालालम्पुरबाट निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । मलेसियाका पर्यटन व्यवसायीहरुसहित आएको जहाजलाई पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी एवं पर्यटन व्यवसायीहरुले स्वागत गरेका थिए ।


निगमले गरेको पहिलो भैरहवा उडानमा निम्त्याइएका मलेसियाका पर्यटन व्यवसायीहरु भने भैरहवामा अवतरण भएपछि लुम्बिनी भ्रमण गरी काठमाडौं हुदै मलेसिया फर्किने छन् ।

निगमले जेठ पहिलो साता मलेसिया भैरहवा उडानको घोषणा गर्दै सुरुमा मलेसिया भैरहवाका लागि प्रवद्र्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ घोषणा गरेको थियो भने अहिले मलेसिया भैरहवा ३१ हजार र मलेसिया काठमाडौं ५६ हजार रुपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको जनाएको छ ।

निगमका अनुसार मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट हाराहारी रहनेछ । भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं जाने छ । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठमा उद्घाटन गरेको विमानस्थलमा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि त्यहाँ व्यवसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरलायन्स मात्रै रहेको थियो ।