दरौं खोलामा ‘ट्रस ब्रिज’ निर्माण



स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको केन्द्रविन्दु हो अर्जुनचौपारी बजार । अग्ला पहाडले घेरिएको बीचमा केही फराकिलो ठाउँ । जहाँ गाउँपालिकाको प्रशासकीय भवन पनि रहेको छ । गाउँ नै गाउँले भरिएको अर्जुनचौपारी गाउँपालिकाको मुकामको रुपमा रहेको छ अर्जुनचौपारी बजार । बजारलाई दुई भागमा विभाजन गर्दै बहेको दरौँखोला ।

हालसम्म प्रदूषित नबनिसकेको दरौँ खोला स्याङ्जा जिल्लाकै ठूलोमध्येको एक खोला पनि हो । मुख्य बजारको बीच भागमा ३० वर्षअघि निर्माण भई सञ्चालनमा रहेको झोलुङ्गे पुल । जीर्ण अवस्थामा रहेको पुल जहाँ काठका फलिया ठोकिएको थियो । वर्षाको पानीले बीचबीचमा कुहिएर वारपार गर्दा दुर्घटना हुनसक्ने जोखिम थियो । मुख्य बजारबाट वारपार गर्न ३० वर्षअघि निर्माण भएको पुलबाट स–साना बालबालिका विद्यालय जानुपर्ने बाध्यता थियो ।


सुसाउँदै बहेको दरौँ खोला र झोलुङ्गोजस्तै हल्लिने जीर्ण अवस्थामा रहेको पुलले जो कोही वारपार गर्न पनि डराउँथे । मानिसको ओहोरदोहोर गर्ने पुल जीर्ण बनेकाले आवतजावतमा समस्या भएपछि उक्त ठाउँमा ‘ट्रस ब्रिज’ निर्माण गरी सञ्चालनमा ल्याइएको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए ।

पुल निर्माण गर्न सङ्घीय सरकारको रु २९ लाख, गाउँपालिकाको रु २० लाख र स्थानीयवासीको एक लाख गरी कूल रु ५० लाखको लागतमा निर्माण सम्पन्न भएको उनले बताए । दरौँ खोलामा निर्माण सम्पन्न भई बुधबारबाट सञ्चालनमा आएको पुल ३२ मिटर लम्बाइको रहेको छ । सम्झौता भएको मितिले तीन महिनाभित्र काम सम्पन्न गरी हस्तान्तरण गरिएको अर्जुनचौपारी बजार झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष क्याप्टेन रुद्रबहादुर थापाले बताए । पुल सम्पन्न भई सञ्चालनमा आएसँगै स्थानीयलाई निक्कै सहज भएको महसुुस गरेका छन् । पुलले अर्जुनचौपारी गाउँपालिका वडा नं १ र २ लाई जोडेको छ ।