जलहरीमा १० किलो सुन नपुगे मलाई मृत्युदण्ड दिनुः सदस्यसचिव थापा



काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिनाथमा सुनको जलहरी लगाउँदा सुन तलमाथि नभएको दाबी गरेका छन् ।

मंगलबार राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सदस्यसचिव थापाले सुन गायब पारिएको भन्ने कुरामा सत्यता नभएको बताएका हुन् ।


उनले सुन गायब गरेको भए आफू जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताए । उनले यसमा आफूले गल्ती गरेको भए मृत्युदण्ड भोग्न तयार रहेको बताए ।

बैठकमा भावुक हुँदै उनले भने, ‘९६ किलो सुन तयार भइसकेको छ। १० केजी भएको छैन भनेपछि हामीले त्यो माईन्यूटमा नलेखेको मात्रै हो । १० केजी सुन शिवले पहिरिएर राख्नु भएको छ। कि जोख्दा खेरी थाहा हुन्छ नि पित्तल होल्यो कि चाँदी हाल्यो। यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ। म मृत्युदण्ड लिन तयार छु।’

थापाले यस विषयमा न्याय माग्न आत्महत्या गर्नुपर्ने हो भन्दै प्रश्न गरेका थिए। उनले राष्ट्र बैंकसँगको सम्झौता अनुसार १०३ केजी सुन ल्याएको र तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले शिवरात्रिसम्म काम सक्नु भनेपछि उहाँहरुको निर्देशनमा छिटो काम गरेको बताए । उनले जलहरी लगाउँदा नेपाली सेना २४ सै घण्टा तैनाथ रहेको बताए ।

उनले यस प्रकरणले आफ्नो बेइज्जत भएको र आफू पीडामा रहेको गुनासो गरे । समितिले पशुपति क्षेत्र विकास कोषको सम्पत्ति र यसको उपयोग सम्बन्धमा कोषका पदाधिकारीसँग छलफल गरेको हो ।