काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानिबारे जनचेतना फैलिएकाले सेवनकर्ता विस्तारै घट्दै गएको सरकारले सार्वजनिक गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेजिङमा ९० प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने र धूमपान तथा सुर्तीजन्य पदार्थले फोक्सोको क्यान्सर हुन्छ भन्ने चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने उल्लेख गरिएको छ ।
सोही चित्रका कारण पनि कतिपयले सुर्तीजन्य पदार्थको सेवन नगरेको पाइएको छ । सरकारले यही असार ८ गते सार्वजनिक गरेको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ मा विगतभन्दा सुर्तीजन्य पदार्थको सेवनमा कमी आएको देखाइएको छ । सर्वेक्षणमा पुरुषको तुलनामा महिलामा सुर्तीजन्य पदार्थको सेवन एकदमै कम मात्रामा हुने गरेको छ । सर्वेक्षणअनुसार १५ देखि ४९ वर्ष उमेरका २८ प्रतिशत पुरुष र पाँच प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको सेवन गर्दछन् ।
सोही स्वास्थ्य सर्वेक्षणअनुसार २००१ मा सुर्तीजन्य पदार्थको सेवन गर्ने ४५ प्रतिशत पुरुष र २३ प्रतिशत महिला रहेका थिए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा सार्वजनिक गरेको सर्वेक्षणमा नेपालमा २८ दशमलव नौ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ ।
पन्ध्रदेखि ६९ वर्ष उमेर समूह ४८ दशमलव तीन प्रतिशत पुरुष र ११ दशमलव छ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् । केही वर्षअघि नेपालमा ३० प्रतिशत (५१ द्यशमलव नौ प्रतिशत पुरुष र १३ प्रतिशत महिला) मानिसले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका थिए । पहिलो पटक धूमपान सुरु गर्दाको औसत उमेर १७ दशमलव आठ रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुर्तीजन्य पदार्थ नियमन तथा स्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख डा भक्त केसी सन् २०१९ र २०२२ मा सार्वजनिक भएको तथ्याङ्कले सुर्तीजन्य पदार्थको सेवनमा कमी आएको बताउँछन् । उनी सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने हानिका बारेमा मानिसमा आएको जनचेतनाका कारणले सुर्तीजन्य पदार्थको सेवन घट्दै गएको बताउँछन् ।
उनले सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रण गर्न बनेका ऐन, नियमावली, निर्देशिका पनि कार्यान्वयन हुँदा सेवन घटेको बताउँछन् । सर्वेक्षण २०२२ मा सुर्तीजन्य पदार्थ सेवन गर्ने पुरुषमध्ये १७ प्रतिशतले दैनिक धूमपान गर्ने र ११ प्रतिशतले कहिलेकाहीँ मात्र गर्ने गर्छ । दैनिक चुरोट पिउने पुरुषमध्ये ५४ प्रतिशतले पाँच वटाभन्दा कम र २५ प्रतिशतले पाँचदेखि नौवटा चुरोट र २१ प्रतिशतले १० वटाभन्दा बढी चुरोट पिउने गर्छन् । सन् २०१५ मा एक्सन नेपालले गरेको अध्ययनमा पनि सुर्तीजन्य पदार्थको बट्टामा राखिएको चित्रका कारणले दैनिक ११ वटा खिल्ली खाने मानिसले पाँचवटा खिल्ली चुरोट सेवन गर्ने गरेको उल्लेख गरिएको छ ।
कनून कार्यान्वयनमा समस्या
तीनवटै कानून ल्याएपछि ती कानून प्रभावकारी कार्यान्वयन नहुँदा सरकारले भनेजस्तो सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रण हुन नसकेको पाइएको छ । ऐनको दफा ४ मा सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन गर्न नपाइने उल्लेख छ । तर अहिले पनि सार्वजनिक स्थानमा धूमपान र सुर्तीसेवन गरिरहेको पाइएको छ । चोकचोकमा खुलेका चियापसलमा युवाहरूले चुरोट तानिरहेको देख्न सकिन्छ ।
सोही ऐनको दफा ११ मा बिक्री वितरण तथा प्रदर्शनमा बन्देज व्यवस्थामा ‘कसैले पनि १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन’ भन्ने उल्लेख गरिएको छ । नियावलीको नियम ७ मा पनि उत्पादकले कम्तीमा २० खिल्ली अटाउने गरी चुरोट वा बिँडी प्याकेट वा बट्टा तयार गर्नुपर्ने उल्लेख छ तर केही चुरोट उत्पादक कम्पनीले १० खिल्ली भएको बट्टा पनि उत्पादन गरी बेचिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासकसमेत रहनुभएका डा केसी सुर्तीजन्य पदार्थसँग सम्बन्धित निकायबीच समन्वय नहुँदा नियन्त्रणमा समस्या परेको बताउँछन् । उनी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीय प्रशासन र स्थानीय निकायले कानून कार्यान्वयनमा फितलो देखिएकोले समस्या परेको बताउँछन् । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहमा अनुगमनको जिम्मा दिइएको भए पनि अनुगमन फिलतो रहेको डा केसीको भनाइ छ । उनी अन्य कानून जस्तै सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रण गर्न बनेका कानून प्रभावकारी कार्यान्वयन गर्ने हो भने नियन्त्रण गर्न सकिने बताउँछन् ।
ऐनको दफा १७ सजायसम्बन्धी व्यवस्थाको उपदफामा (१) मा धूमपान वा सुर्ती सेवन गर्न तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटकपटक धूमपान वा सूर्ती सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा रु एक सय जरिवाना वा दुवै सजाय गर्नुपर्ने उल्लेख गरिएको छ ।
तर उक्त सजायको कार्यान्वयनसमेत फितलो रहेको पाइएको छ । नेपालमा बर्सेनि २७ हजार एक सय ३७ जनाको सुर्तीजन्य पदार्थको सेवनले मृत्यु हुने गरेको छ, जुन नेपालमा वार्षिक मृत्युको करिब १५ प्रतिशत हो । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गरेको बताउँछन् । उनले देशभरि नै प्रहरीले सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानिबारे सचेतना फैलाइरहेको बताउँछन् । कानूनले सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कारबाहीको अधिकार नदिएको हुनाले कारबाही गर्न समस्या परेको उनको भनाइ छ ।