काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको चुनाव असोजमा हुने भएको छ । आज बसेको बोर्ड बैठकले निर्वाचन कार्यतालिका अनुमोदन गरेको छ ।
यसअघि नै निर्वाचन कार्यतालिका प्रकाशित गर्ने तयारी गरिए पनि राष्ट्रिय खेलकुद परिषद् राखेपले विधान अनुमोदन नगर्दा ढिला भएको थियो ।
राखेपले केही दिन अघिमात्रै विधान अनुमोदन गरे पछि आज बसेको क्यानको बैठकले जिल्ला, प्रदेश र केन्द्रको चुनावी अधिवेशनको मिति तय गरेको हो ।
जस अनुसार साउन मसान्त भित्र क्यानका शाखा रहेका जिल्लामा अधिवेशन हुने छ । क्यानका ४५ वटा जिल्लामा शाखा रहेका छन् ।
यसैगरी सातै प्रदेशको अधिवेशन भदौ १० गतेभित्र हुने गरी मिति तोकिएको छ । केन्द्रिय अधिवेशन भने असोजको ५ र ६ गतेलाई तय गरिएको छ ।
स्थान भने अहिले नै निश्चित नभएको क्यानले जनाएको छ । सकेसम्म काठमाडौंभन्दा बाहिर केन्द्रिय अधिवेशन गर्ने गरी तयारी सुरु हुने क्यानका एक पदाधिकारीले जानकारी दिए ।