कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य : अध्यादेशमार्फत बजेट ल्याउने तयारी



माेरङ । कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यही जेठ ३१ गते राति १२ बजेदेखि प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेका हुन् ।

उनले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को यही जेठ ३१ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्य गरेका हुन् ।


वर्षे अधिवेशन अन्त्य भएसँगै अल्पमतमा परेका एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई अध्यादेशबाट आउँदो आर्थिक वर्ष २०८०र ०८१ को बजेट ल्याउन बाटो खुलेको छ ।

संविधान र कानुनअनुसार असार १ गतेसम्ममा प्रदेशसभामा सरकारले बजेट पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेर प्रदेशसभालाई छलेर अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो ।

प्रदेशको अध्यादेश सम्बन्धी व्यवस्था संविधानको धारा २०२ मा व्यवस्था छ । उक्त धाराको उपधारा ९१० मा प्रदेशसभाको अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न आवश्यक भएमा मात्र अध्यादेश जारी गर्न पाइने व्यवस्था छ ।

एमालेको नेतृत्वमा सरकार अहिले अल्पमतमा परेको छ । नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो । तर, प्रतिपक्षी दलका नेताको आग्रहलाई नकार्दै जवाफमा एमाले प्रमुख सचेतक भण्डारीले भने, ‘संविधान अनुसार नै बजेट आएछ ।’ तर, विपक्षी दलहरूले भने अध्यादेशमार्फत बजेट ल्याए अस्वीकार गर्ने बताउँदै आएका छन् ।