इस्लामावादमा सगरमाथा आरोहणको ७०औं वार्षिकोत्सव मनाइयो 



काठमाडौं । नेपाली राजदूतावास, इस्लामाबादले  सगरमाथा आरोहणको ७०औं वार्षिकोत्सवका र अन्तर्राष्ट्रिय सगरमाथा दिवस-२०२३ मनाएको छ । 

इस्लामाबादले नेपाली तथा पाकिस्तानी सगरमाथा आरोही, पर्वतारोहण संवद्ध पदाधिकारीहरू र पत्रकारहरूको  उपस्थितिमा कार्यक्रमको आयोजना गरेको हो । 


कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सगरमाथा दिवसको महत्वबारे बोल्दै २९ मई १९५३ को सगरमाथाको प्रथम सफल आरोहणले पर्वतारोहणमा एक नयाँ आयाम थपेको बताए । उक्त अवसरमा नेपाल सरकारले पर्वतारोहणका सम्बन्धमा लिएका नीति, कार्यक्रम र पर्वतारोहण एव साहसी पर्यटनका बारेमा लिएका नीतिहरूबारे उनले जानकारी गराए ।

कार्यक्रममा राजदूत अधिकारीले सगरमाथा आरोहीलाई स्वागत गर्दै हालै सगरमाथा आरोहण गरेका पाकिस्तानी पर्वतारोही नयला कियानी, साजिद अली सादपारालाई बधाइ दिए । उनले  आगामी पर्वतारोहण र साहसी खेल एवम् पर्यटन अभियानको सफलताको कामना समेत गरे । 

त्यस अवसरमा शेर्पा समुदायको पर्वतारोहणमा योगदानको चर्चा गर्दै पर्वतारोहणमा शेर्पाहरूमा दक्षता, विश्वसनीयता र सहयोगी भावनाका कारण उनीहरूको सहयोगमा कुनै पनि पर्वत आरोहण गर्न सहज रहेको बताए ।

उनले शेर्पाहरूमा नेपालको नम्र शक्ति रहेको र नेपाली समाज उनीहरूको योगदानको उच्च सम्मान गर्दै पर्वतारोहणमा शेर्पाहरूको योगदानमा सदैव गौरवान्वित रहेको बताए ।  राजदूत अधिकारीले नयला कियानी र साजिद अलि सादपारालाई नेपालको पर्यटन विभागबाट जारी भएको उनीहरूले सगरमाथा आरोहणको गर्दा दिइने प्रमाणपत्र हस्तान्तरण समेत गरे ।

कार्यक्रममा पर्वतारोहीहरू मिंग्मा जी शेर्पा, दावा शेर्पा, सरवाज खान, नयला कियानी र साजिद अलि साद्पाराले आआफ्नो नेपालमा पर्वतारोहणको अनुभव सुनाउँदै उनीहरूको पर्वतारोहण अभियानमा नेपालको सरकार र जनताबाट प्राप्त सहयोग प्रति आभारी रहेको बताए ।